कप्तानगञ्ज घटनाका दाेषीलाई कारबाही र हतकडी नलागेसम्म शव नबुझ्ने परिवारको अडान !
१९ श्रावण २०८३, मंगलवार १२:१८
देवानगञ्ज । गत साउन १० गते सुनसरीको देवानगन्ज गाउँपालिका वडा नम्बर ३, कप्तानगन्जमा भएको घटनाका घाइते रबिन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू शिक्षण अस्पताल) मा उपचाररत मेहताको आज निधन भएको हो।
मेहताको निधनपछि आक्रोशित परिवारजनले दोषीहरूलाई पक्राउ गरी हतकडी नलगाएसम्म र कडा कारबाहीको ग्यारेन्टी नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
नागरिक अभियान संग कुरा गर्दै मृतकका दाजु रोशन मेहताका अनुसार घटनामा संलग्न दोषीहरूमाथि प्रशासनले अहिलेसम्म ठोस कारबाही नगरेको भन्दै परिवारले शव उठाउन अस्वीकार गरेको हो। “मेरो भाइको टीयू शिक्षण अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ,” रोशन मेहताले भने, “जबसम्म सरकार र स्थानीय प्रशासनले दोषीलाई हतकडी लगाएर कानुनी दायरामा ल्याउँदैन, तबसम्म हामीले शव नबुझ्ने निर्णय गरेका छौँ।”
साउन १० गते घटेको उक्त घटनाका दोषीहरू अझै खुला रूपमा हिँडिरहेको र पीडित पक्षलाई न्याय दिन ढिलाइ भइरहेको भन्दै आफन्त तथा स्थानीयबासीहरू समेत आक्रोशित बनेका छन्। पीडित परिवारले अविलम्ब दोषीहरूलाई नियन्त्रणमा लिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया