समाचार संकलन गर्न पुगेका दर्शन एफ.एम.का पत्रकार धर्मेन्द्र मेहताको सवारी साधन तोडफोड
१३ श्रावण २०८३, बुधबार १६:३९
देवानगञ्ज । देवानगञ्जमा घटेको घटनाको विषयलाई लिएर समाचार संकलनका लागि कोशी गाउँपालिकाको कोशी कटान पुगेका दर्शन एफ.एम.का पत्रकार धर्मेन्द्र मेहताको सवारी साधनमा तोडफोड भएको छ।
हिजो देवानगञ्जको घटनाबारे सत्यतथ्य जानकारी तथा समाचार संकलन गर्ने क्रममा कोशी कटान पुग्नुभएका दर्शन एफ.एम.का पत्रकार मेहताको सवारी साधनमा अज्ञात समूहद्वारा तोडफोड गरिएको हो।
पत्रकारमाथि भएको यस आक्रमण र सवारी साधन तोडफोडको घटनाप्रति दर्शन एफ.एम.का अध्यक्ष विवेक मेहताले कडा शब्दमा विरोध तथा भर्त्सना गर्नुभएको छ। अध्यक्ष मेहताले कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीमाथि यस्ता गतिविधि हुनु प्रेस स्वतन्त्रता र सूचनाको हकमाथिको प्रत्यक्ष हमला भएको बताउनुभएको छ।
देवानगञ्जको घटनाबारे सत्यतथ्य समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई लक्षित गरी भौतिक क्षति पुर्याउने कार्य पूर्णतः निन्दनीय छ, अध्यक्ष मेहताले भन्नुभयो, घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन र पत्रकारको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन हामी स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौँ ।
यस घटनाप्रति स्थानीय सञ्चारकर्मी, दर्शन एफ.एम. मिडिया परिवार तथा विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले पनि गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया