भण्टावारीमा मानव बेचबिखन तथा लागुऔषध नियन्त्रणका लागि ‘हेल्प डेस्क’ स्थापना – Nagarikabhiyan : National News

भण्टावारीमा मानव बेचबिखन तथा लागुऔषध नियन्त्रणका लागि ‘हेल्प डेस्क’ स्थापना

भण्टावारी । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन तथा लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीस्थित सीमा नाकामा ‘हेल्प डेस्क’ स्थापना गरिएको छ। भारतको सुपोल–भीमनगर सीमा क्षेत्रसँग जोडिएको उक्त नाकामा गैरसरकारी संस्था नव अभियान नेपाल को पहल तथा सहयोगमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

खुला सीमा क्षेत्रका कारण मानव बेचबिखन, महिला तथा बालबालिकामाथि हुने हिंसा, लागुऔषधको ओसारपसार तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै स्थापना गरिएको हेल्प डेस्कले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा सचेतना अभिवृद्धि गर्नुका साथै जोखिममा परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ।
औपचारिक कार्यक्रमबीच उद्घाटन
नवनिर्मित हेल्प डेस्कको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष बलराम कुमार क्षेत्री रहनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा कोशी गाउँपालिका कार्यसमिति सदस्य सरजुग सरदार तथा इलाका प्रहरी कार्यालय भण्टावारीका इन्चार्ज सुरेश यादव सहभागी हुनुभएको थियो।
कार्यक्रममा नव अभियान नेपालका जिल्ला संयोजक समीर न्योपाने , संस्थाका कर्मचारी प्रमुख सुधा कुमारी देव, संस्थाकी प्रतिनिधि आसमा खातुन, स्थानीय सञ्चारकर्मी तथा बुद्धिजीवीहरूको समेत सहभागिता रहेको थियो।
सीमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बलराम कुमार क्षेत्रीले खुला सीमाका कारण भण्टावारी क्षेत्रमा विभिन्न किसिमका संवेदनशील अपराध हुने गरेको उल्लेख गर्दै हेल्प डेस्कको स्थापना सीमा सुरक्षाका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै नव अभियान नेपालले चालेको पहलको प्रशंसा गर्दै स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय भण्टावारीका इन्चार्ज सुरेश यादवले प्रहरी प्रशासन र सम्बन्धित निकायबीचको सहकार्यबाट हेल्प डेस्क प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीमाबाट हुने शङ्कास्पद गतिविधिमाथि निगरानी बढाउँदै मानव बेचबिखन तथा लागुऔषध कारोबार नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो।

नव अभियान नेपालका प्रतिनिधिहरूका अनुसार हेल्प डेस्कमार्फत सीमा नाका भएर आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई मानव बेचबिखन, बाल अधिकार, महिला हिंसा तथा लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना प्रदान गरिनेछ। साथै, जोखिममा परेका महिला, बालबालिका तथा अन्य नागरिकहरूको उद्धार, परामर्श तथा कानुनी सहायता उपलब्ध गराइने जनाइएको छ।
संस्थाले स्थानीय तह, प्रहरी प्रशासन र समुदायसँग समन्वय गर्दै सीमा क्षेत्रमा सुरक्षित वातावरण निर्माण गर्न तथा मानव बेचबिखन र लागुऔषधको अवैध कारोबार न्यूनीकरण गर्न निरन्तर काम गर्ने जनाएको छ।
सीमावर्ती क्षेत्रमा स्थापना गरिएको यो हेल्प डेस्कले स्थानीय नागरिकको सुरक्षा, सचेतना अभिवृद्धि तथा सीमा अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।