​देवानगञ्ज १मा रहेकाे मरिया खोला पुल निर्माणका लागि प्रदेश सरकारद्वारा डेढ करोड विनियोजन: मन्त्री मेहता – Nagarikabhiyan : National News

​देवानगञ्ज १मा रहेकाे मरिया खोला पुल निर्माणका लागि प्रदेश सरकारद्वारा डेढ करोड विनियोजन: मन्त्री मेहता

​​देवानगञ्ज । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मा रहेको मरिया खोलामा पुल निर्माणका लागि प्रदेश सरकारले डेढ करोड (१ करोड ५० लाख) रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको छ।
​
देवानगञ्ज गाउँपालिकाको गाउँसभामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री मेहताले उक्त कुराको जानकारी गराउनुभएको हो। गाउँसभालाई सम्बोधन गर्ने क्रममा उहाँले स्थानीय नागरिकको सहज आवतजावत र विकासको पूर्वाधारलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले यो बजेट छुट्याएको बताउनुभयो।
​
मरिया खोलामा पुल नहुँदा स्थानीय बासिन्दाले वर्षायाममा भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै यो योजना अगाडि सारिएको उहाँको भनाइ थियो। पुल निर्माणको सुरुवातसँगै देवानगञ्ज क्षेत्रको यातायात र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।