देवानगञ्ज गाउँपालिकाले सिँचाई विद्युत महसुल पूर्ण रूपमा निःशुल्क गर्ने
१० असार २०८३, बुधबार १४:०२
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाले स्थानीय कृषकहरूका लागि एउटा ठुलो र राहतमूलक घोषणा गरेको छ। गाउँपालिकाले आगामी नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत कृषि सिँचाईका लागि संचालन गरिने विद्युतीकरण कार्यक्रम पश्चात् किसानहरूलाई विद्युतीय महसुल पूर्ण रूपमा निःशुल्क गर्ने नीति सार्वजनिक गरेको हो।
गाउँपालिकाको हालै सम्पन्न २१ औँ गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले यस ऐतिहासिक योजनाबारे आधिकारिक जानकारी दिनुभएको हो।
गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मेहताले देवानगञ्जका अधिकांश नागरिक कृषिमा आश्रित रहेकाले कृषि क्षेत्रको आधुनिकीकरण, लागत न्यूनीकरण र उत्पादकत्व वृद्धिका लागि यो योजना ल्याइएको बताउनुभयो।
“सिँचाईको अभाव र महँगो इन्धनका कारण किसानहरूले भोग्नुपरिरहेको सास्तीलाई अन्त्य गर्न हामी प्रतिबद्ध छौँ। पहिलो चरणमा सिँचाई विद्युतीकरणलाई तीव्रता दिइनेछ र त्यसलगत्तै किसानहरूले सिँचाई गर्दा लाग्ने सम्पूर्ण बिजुली महसुल गाउँपालिकाले नै बेहोर्नेछ,” अध्यक्ष मेहताले दाबी गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया