देवानगञ्जमा वर्षौंदेखिको हिलाम्मे बाटो कालोपत्रे हुँदै: स्थानीयमा छायो खुसी – Nagarikabhiyan : National News

देवानगञ्जमा वर्षौंदेखिको हिलाम्मे बाटो कालोपत्रे हुँदै: स्थानीयमा छायो खुसी

देवानगञ्ज ।देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने हकपार जाने बाटोको मुहार फेरिने भएको छ। विगत लामो समयदेखि सामान्य वर्षामा पनि हिलाम्मे भएर सर्वसाधारणलाई आवतजावतमा सास्ती दिँदै आएको उक्त सडक खण्ड कालोपत्रे (पिच) हुन लागेपछि स्थानीय बासिन्दाहरू निकै उत्साहित भएका छन्। सडक स्तरोन्नति योजना अन्तर्गत हाल पहिलो चरणको ग्याभेल (ग्राभेल) राख्ने कार्य सम्पन्न भइसकेको छ।

​यसैबीच आज (बिहीबार) देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले निर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा अध्यक्ष मेहताले सडकको गुणस्तर चुस्त राख्न निर्देशन दिँदै स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष संवाद समेत गर्नुभयो।
​स्थानीयसँगको संवादका क्रममा अध्यक्ष मेहताले गाउँपालिकाभित्रका मुख्य तथा सहायक सडकहरूलाई बाह्रै महिना चल्ने बनाउने प्रतिबद्धता जनाउँदै विकास निर्माणमा स्थानीयको रचनात्मक सहयोग र निगरानी आवश्यक रहेको बताउनुभयो।

​”पहिले हिउँदमा धुलो र वर्षामा हिलोले गर्दा यो बाटो हिँड्नै नसकिने हुन्थ्यो। अहिले ग्याभेलको काम सकिएर कालोपत्रेको तयारी हुँदा र गाउँपालिका अध्यक्ष आफैंले चासो देखाएर अनुगमन गर्दा काम समयमै सकिनेमा हामी ढुक्क छौँ।”
​यो सडक पिच भएपछि वडा नं. ६ र ७ का हजारौँ स्थानीयको दैनिक आवतजावत सहज हुनुका साथै कृषि उपजलाई बजारसम्म पुर्‍याउन र आपत्कालीन स्वास्थ्य सेवाको पहुँचमा ठुलो मद्दत पुग्ने विश्वास गरिएको छ।