‘खुसी किसान, देवानगञ्जको पहिचान’ नारा साकार पार्दै गाउँपालिकाः ट्रान्सफर्मर खरिद अन्तिम चरणमा – Nagarikabhiyan : National News

‘खुसी किसान, देवानगञ्जको पहिचान’ नारा साकार पार्दै गाउँपालिकाः ट्रान्सफर्मर खरिद अन्तिम चरणमा

​देवानगञ्ज । ‘खुसी किसान, देवानगञ्जको पहिचान’ भन्ने मूल संकल्पका साथ सुनसरीको देवानगञ्ज गाउँपालिकामा सञ्चालित कृषि विद्युतीकरण आयोजनाले गति लिएको छ। गाउँपालिकाका किसानहरूलाई सिँचाइमा आत्मनिर्भर बनाई उत्पादन बढाउने उद्देश्यले सुरु गरिएको यस बृहत् योजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ।
​यसैक्रममा, आयोजनाको मुख्य कडी मानिएको ट्रान्सफर्मर खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने पहिलो चरण अन्तर्गत बाँकी रहेका प्राविधिक तथा भौतिक पूर्वाधारका कामहरूलाई अहिले द्रुत गति (युद्धस्तर) मा अगाडि बढाइएको छ।
​हालै गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र प्राविधिक टोलीले विभिन्न वडाहरूमा पुगेर आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण समेत गरेको छ।
​
​विद्युतीकरणको कामलाई पूर्णता दिन गाउँपालिकाले प्रशासनिक र प्राविधिक तयारीलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा देखिएका र पहिलो चरणमा छुट्न पुगेका सानातिना प्राविधिक कामहरूलाई अहिले द्रुत गतिमा फत्ते गरिँदैछ।
​खरिद प्रक्रिया अन्तिम चरणमा: आवश्यक क्षमताका ट्रान्सफर्मर खरिदको कानुनी तथा आर्थिक प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी केही दिनभित्रै सामग्री गाउँपालिकामा आइपुग्ने जनाइएको छ।

ट्रान्सफर्मर उपलब्ध हुनासाथ प्राविधिक टोलीले तोकिएका स्थानहरूमा जडानको काम तत्कालै सुरु गर्ने तयारी गरेको छ।
​पहिलो चरणको काममा तीव्रता: जहाँ-जहाँ पोल गाड्ने, तार तान्ने वा स्टे राख्ने काम बाँकी थिए, ती क्षेत्रमा अतिरिक्त जनशक्ति परिचालन गरेर कामलाई गति दिइएको छ।

​स्थलगत निरीक्षणका क्रममा निर्माण व्यवसायी र प्राविधिकहरूलाई समयमै र गुणस्तरीय काम सक्न निर्देशन दिँदै गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले भन्नुभयो “देवानगञ्जको पहिचान र आर्थिक मेरुदण्ड नै कृषि हो। हाम्रा किसान दाजुभाइले हिउँद-बर्खा सधैँ सिँचाइको समस्या झेल्नुपर्ने र महँगो डिजेल खरिद गरेर खेती गर्नुपर्ने बाध्यतालाई सधैँका लागि अन्त्य गर्न हामी लागिपरेका छौँ। ट्रान्सफर्मर खरिदको काम अन्तिम चरणमा छ, केही दिनमै यसको जडान सुरु हुनेछ। पहिलो चरणको बाँकी काम पनि अहिले द्रुत गतिमा भइरहेको छ। चाँडै नै किसानका खेतखेतमा बिजुली पुर्‍याएर यो योजना मुलुककै नमुना बनाउने हाम्रो लक्ष्य छ।”
​

​लामो समयदेखि आकाशे पानी र महँगो पम्पसेटको भरमा खेती गर्दै आएका देवानगञ्जका स्थानीय किसानहरू खेतमै बिजुली पुग्न लागेपछि निकै हर्षित भएका छन्।