मेरिल्याण्ड कलेजमा ८ सय बढी विद्यार्थीको भव्य अभिमुखीकरण, उत्कृष्ट विद्यार्थीहरू सम्मानित
२१ जेष्ठ २०८३, बिहीबार २१:२४
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विगत २४ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मेरिल्याण्ड कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि एक भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कलेजले बिहीबार आयोजना गरेको विशेष समारोहमा विज्ञान र व्यवस्थापन संकाय तर्फ कक्षा ११ मा नयाँ भर्ना भएका ८ सय भन्दा बढी विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण प्रदान गरिएको हो।
शैक्षणिक र अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यका साथ कलेजले कार्यक्रमको अवसरमा आफ्ना उत्कृष्ट ५० जना विद्यार्थीहरूलाई विशेष सम्मान गरेको थियो। त्यसैगरी, विज्ञान तथा व्यवस्थापन संकाय तर्फको कक्षा ११ को प्रवेश परीक्षा मा सर्वोत्कृष्ट अङ्क ल्याएर भर्ना भएका ५ जना विद्यार्थीहरूलाई पनि कलेजले विशेष रूपमा पुरस्कृत तथा सम्मानित गरेको छ।
कार्यक्रममा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुङ्गेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा चर्चित हास्य कलाकार एवं ‘कॉमेडी किङ अफ नेपाल’ मनोज गजुरेलको उपस्थिति रहेको थियो।
कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डा. पि. के. झा, प्रिन्सिपल लक्ष्मण ढकाल, निर्देशकहरू भेषराज पोखरेल, प्रदिपकुमार भगत, डा. मनोज गुप्ता, नन्दकिशोर अग्रवाल, डा. शिवनारायण यादव, पेशल पोखरेल र जयराज राजवंशी लगायतले विद्यार्थीहरूलाई खादा ओढाएर उज्ज्वल भविष्यको कामना सहित सम्मान गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया