एकीकृत समाजवादीले समाजवादी जागरण अभियान गर्ने मेचीबाट सुरु कञ्चनपुरमा समापन – Nagarikabhiyan : National News

एकीकृत समाजवादीले समाजवादी जागरण अभियान गर्ने मेचीबाट सुरु कञ्चनपुरमा समापन

नेकपा एकीकृत समाजवादी ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ ।
एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो ।

पार्टीले बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिब १ हजार किलोमिटर यात्रा हुने बताइएको छ ।

यसबीचमा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताए ।
उनले रोजगारी समृद्धि र सुशासन को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिए ।
त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशनअघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको उनले उल्लेख गरे ।
यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उनले बताए ।
उनले वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरु भने स्पष्टता साथ अघि बढेको बताए ।