८ वर्षीया लिनाले एक वर्षमै ८ सय ६७ वटा किताब पढिन् – Nagarikabhiyan : National News

८ वर्षीया लिनाले एक वर्षमै ८ सय ६७ वटा किताब पढिन्

स्याङ्जा – नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा रहेको यो विद्यालयमा कक्षा दुईमा अध्ययनरत हुनुहुन्छ स्थानीय लिना पाण्डे । आठ वर्षीया लिनाले एक वर्षको अवधिमा आठ सय ६७ वटा पुस्तक पढेर सबैलाई चकित पार्नुभएको छ ।

विसं २०३० मा स्थापना भएको विद्यालयमा बाल पुस्तकालय नहुँदा साना बालबालिकामा विषयवस्तुभन्दा बाहिरका पुस्तक पढ्ने चलन थिएन । अहिले विद्यालयमा बाल पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकामा पुस्तक पढ्ने रुचि विकास हुँदै गएको पुस्तकालयकी व्यवस्थापक रुपा न्यौपानेले बताउनुभयो ।

एक वर्ष अगाडि विद्यालयमा साक्षरता कार्यक्रम लागू भएसँगै बाल पुस्तकालय स्थापना भएको उहाँले जानकारी दिनुभयो । ‘बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला–रमाइला बालकथाका पुस्तक पढ्न शुरु गरेका छन्’, व्यवस्थापक न्यौपानेले भन्नुभयो, ‘विद्यार्थीले पुस्तकालयमा मात्र नभएर आफूलाई मनपर्ने पुस्तक घरमा लगेर पनि पढ्ने बानीको विकास गरिरहेका छन् ।’ उहाँले बालबालिकाले घरमा लगेका पुस्तक फिर्ता गर्ने क्रममा किताबभित्रका विषयवस्तु सोध्दा सही उत्तर दिने गरेको बताउनुभयो ।

यसअघि विद्यालयमा बाल पुस्तकालय नहुँदा बालबालिका उमेरअनुसार बाहिरी पुस्तक पढ्नबाट वञ्चित थिए । लिनालाई पनि किताबसँग रमाउने बानी परेको थिएन । पाठ्यक्रम र पाठ्यपुस्तकमा जे छ, शिक्षक–शिक्षकाले जे पढाउनुहुन्छ त्यही विषयवस्तुमा सीमित हुनुपर्ने बाध्यता थियो ।

व्यवस्थापक न्यौपानेले पुस्तकालयमा विद्यार्थीले पढ्ने गरेका पुस्तकसहितको रेकर्ड आफूले राख्ने गरेको बताउनुभयो । ‘लिनाले गएको साउनदेखि अहिले साउन मसान्तसम्म आठ सय ६७ वटा पुस्तक पढेको रेकर्ड छ’, उहाँले भन्नुभयो । न्यौपानेका अनुसार कक्षा ३ की कृतिका न्यौपाने र कक्षा २ की विभा भट्टराई पनि लिनाले जस्तै धेरै पुस्तक पढ्नेमा रेकर्ड राखेका छन् ।

लिनाकी आमा रेनुका डुम्रेले लिनाले धेरैजसो समय बालपुस्तक पढ्नमा बिताउने गरेको बताउनुभयो ।