म्याग्दीको बेनीमा परम्परागत बर्खे नाच शुरु
५ भाद्र २०८०, मंगलवार ०७:३५
म्याग्दी :सदरमुकाम बेनीमा परम्परागत बर्खे नाच शुरु भएको छ।
बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ। घण्टाकर्ण चतुर्दशीदेखि तीजको दिनसम्म विभिन्न नाच देखाइने यो बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।
बर्खेनाच अन्तर्गत सोमबारदेखि बेनीमा लाखे नाच देखाउन शुरु भएको छ। नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंका खलःले जनाएको छ। मंका खल अन्तर्गतको युवाहरुको समूह ल्यामपुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ। यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ नागानागीनी, धानको बाला र जोगी नाच देखाइने भएको छ।
परम्परागत रूपमा देखाइदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बाला नाच देखाउन लागिएको हो।
मंका खलः ले २०० पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ।विभिन्न नाचका लागि ४० जनासम्म कलाकार सहभागी हुन्छन्। आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृतिहरु लोप हुँदै गैरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन्।
बर्खेनाचका दर्जनौँ नाचहरु लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरुको जागरणले संरक्षण र संवद्र्धनमा टेवा पुगेको नेपाल भाषाः मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो। यस बर्ष पनि युवाहरुलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको उनले जानकारी दिए।
बर्खेनाच यहाँका नेवार समुदायको साँस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणको लागि अन्य समुदायको समेत सहभागीता हुन थालेको छ। बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ। सबै जसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।
खासगरी लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र देखाउने गरिन्छ। नागानागिनी नाच भने जनैपूर्णिमादेखि दुई दिन वर्षभर दिवंगत भएका व्यक्तिहरूको सम्झनामा देखाउने चलन छ। बर्खेनाच अन्र्तगत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया