राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान – Nagarikabhiyan : National News

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ :संघीय संसद्को अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन्।​

संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवास बोलाइएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार बैठकमा संसद्को गतिरोधसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। अहिले देखिएका समस्याहरूका बारेमा समेत राजनीति दलहरूसँग राष्ट्रपति पौडेलले छलफल गर्ने पोखरेलले बताए। सुन तस्करी प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक–पटक संसद् अवरुद्ध गर्दै आएको छ।

संसद् चल्न नसकेपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेटी संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका थिए।
राष्ट्रपति पौडेलले यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए।