६१ वर्षमा ६ कक्षा पढ्दै बाँकेकी प्रेमकुमारी
२ भाद्र २०८०, शनिबार १४:०७
बाँके – कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्नुहुन्छ । कक्षामा नियमित उपस्थित हुने उहाँको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ ।
ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी पनि तुल्याएको छ । कोहलपुर–५ एनसीसीएन टोल निवासी गिरी इच्छाशक्ति भए पढाइलाई उमेरले छेक्न नसक्ने गतिलो उदाहरण बन्नुभएको छ ।
हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्छ पढाइभन्दा ठूलो चिज जीवनमा अरू केही छैन्’ उहाँ भन्नुहुन्छ, ‘नातिनातिनासँग पढ्न पाउँदा र छोराहरुले मलाई सिकाउँदा निकै खुसी लागिरहेको छ प्रेमकुमारीले आफ्ना छ सन्तान हुर्काइसक्नुभएको छ । उहाँका छोराछोरी आ–आफ्नो व्यापार व्यवसायमा सक्रिय छन् ।
कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा हुनुहुन्छ । पढ्ने इच्छा हुँदाहुँदै पनि विगतमा घरपरिवार र छोराछोरी हुर्काउँदा विद्यालय जान नपाएको उहाँको भनाइ छ । अहिले घरपरिवारमा फुर्सद मिलेपछि विद्यालय भर्ना भएर पढाइ शुरु गरेको प्रेमकुमारीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया