दोलखामा पहिरोले १२ वर्षीय बालकको मृत्यु – Nagarikabhiyan : National News

दोलखामा पहिरोले १२ वर्षीय बालकको मृत्यु

दोलखा : दोलखा विगु गाउँपालिका(७ मा अविरल वर्षापछि आएको भेलले बगाउँदा १२ वर्षीय पासाङ शेर्पाको मृत्यु भएको छ।​
आइतवार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका बाबु छोरामध्ये छोराको शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।

आज दिउँसो ३६ वर्षीय निमदोर्जे शेर्पा र उनका छोरा पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएका थिए। शेर्पा बाबुछोरालाई बगाएको खबर पाउनेबित्तिकै गाउँलेहरूले खोजी शुरु गरेका थिए। पहिरोमा अझै ३६ वर्षीय निमदोर्जे शेर्पा बेपत्ता छन्।

प्रहरी र स्थानीय बासिन्दाले छोराको शव खहरेको केही तल फेला पारेका हुन्। निरन्तरको वर्षाका कारण खहरेमा आएको बाढीका कारण खोज तथा उद्धारमा कठिनाइ भएपछि खोजी कार्य स्थगन गरेको प्रहरीले जनाएको छ।
खहरे तर्ने क्रममा एकजना भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।