अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गर्दै निजी विद्यालयका सञ्चालकहरु
२३ श्रावण २०८०, मंगलवार १६:०७
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८०को विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकहरुले अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका छन् । मंगलवार पत्रकार सम्मेलन गरेर सञ्चालक टिमले शिक्षा ऐन २०८०को विधेयकलाई सरकारले संशोधन गर्नुपर्ने जनाउँदै अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले आफूहरू विद्यालय बन्दको चरणमा पुग्नु अगावै सरकारले लिखितरुपमा प्रतिबद्धता दिए मात्र आफूहरू यसबाट पछि हट्ने बताए ।
शिक्षालाई मर्यादित, व्यवस्थित, प्रविधिमैत्री बनाउँदै आएका निजी विद्यालयहरूको मर्म र योगदानलाई प्रतिकूल असर गर्ने यस्ता विधेयकहरू समयमा नै संशोधन गरी निजी लगानीको संरक्षण संवर्द्धन सुनिश्चितता हुने लिखित प्रतिबद्धता सरकारको तर्फबाट जारी नभएमा देशै भरी सञ्चालित विद्यालयहरू बन्द गर्ने, सवारी साधन सहित सडकमा प्रदर्शन गर्ने जस्ता आन्दोलनका कार्यक्रमहरू गर्न हामी बाध्य हुने प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलनमार्फत भोलि २४ गते पालिका र जिल्ला प्रशासन सम्बन्धित कार्यालय, सम्बन्धित कार्यसमिति कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ गते सरोकारवाला पक्षबिच अन्तरक्रिया गर्ने २७ गते आ—आफ्ना सङ्गठनमा समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । साथै साउन २८ गतेबाट अनिश्चितकालिन विद्यालय बन्द गरेर विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने उनीहरूको योजना रहेको छ ।
सरकारले आफ्नो जिम्मेवारीलाई बिर्सिएर एकलौटी रूपमा मस्यौदा निर्माण गर्नु तथा सोको विषयमा सरोकारवालासँग कुनै छलफल नै नगरी नगराई संसदमा प्रस्तुत गर्ने सरकारको व्यवहार अलोकतान्त्रिक भएको उनीहरूको ठहर छ । साथै यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवारी सरकार स्वयमले लिनुपर्ने चेतावनी समेत दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया