आफ्नो प्र.म.कालमा भएका सबै निर्णयमाथि छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई अध्यक्ष भट्टराईको आग्रह
२२ श्रावण २०८०, सोमबार १०:५८
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्री कार्यकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतवार सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र उनलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै भट्टराईले ललिता निवासलगायत जुनसुकै प्रकरणमा पनि मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरूमाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।
उनले लेखेका, ‘मेरो प्र।म। कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ ।’ उनले ललिल निवास प्रकरणमा सर्वोच्चको निर्देशन अनुसार छानबिन भएमा छानबिनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।
‘ललिता निवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानबिन गरेर कानूनविपरीत, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढङ्गले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानुन अनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ,’ भट्टराईले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया