ब्लु बस’मा रङ र रुटको समस्या – Nagarikabhiyan : National News

ब्लु बस’मा रङ र रुटको समस्या

देवानगंज –राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।’ तर उनले गाडी परिवर्तन गर्नुपर्नाको कारण भने खुलाएनन्।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, उनले आफ्नो निर्वाचन क्षेत्रमा मोबाइल क्लिनिक चलाउन प्रयोग गरेको गाडी ना २ च ५६१६ नम्बरको एम्बुलेन्स थियो, त्यो पनि नियम अनुसार पत्रु बनाउनुपर्ने अवस्थामा पुगेको, तर पत्रु बनाउनुपर्ने एम्बुलेन्सको गैरकानुनी रूपमा रङसमेत बदलेर चलाएको समाचार प्रकाशन भएपछि गाडी परिवर्तन गर्नैपर्ने बाध्यता आएको थियो।

उनले निर्वाचन क्षेत्रमा एम्बुलेन्सलाई ‘मोबाइल क्लिनिक’ मात्र चलाएको होइन अर्को एउटा बसलाई पनि आफ्नै निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क भन्दै ‘ब्लु बस’ सेवा शुरु गरेका छन्। दुवैको रङ नीलो बनाइएको छ। एम्बुलेन्सबारे लेख्दा उनले बसमा कुनै समस्या नरहेको दाबी गरेका छन्, ‘ब्लु बसमा पनि कुनै समस्या छैन।