न्यायालयमा मुद्धाको चाङ बढ्दै, न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेन – Nagarikabhiyan : National News

न्यायालयमा मुद्धाको चाङ बढ्दै, न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेन

काठमाडौं । न्यायालयमा मुद्दाका चाङ बढ्दै गए पनि राजनीतिक अस्थिरता र खिचातानीको कारण तीनै तहका न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समय देखि न्यायाधीशहरू रिक्त छन् । न्यायाधीश नियुक्ति गरेर न्याय सम्पादनलाई चुस्त र दुरुस्त बनाउन सरकारको  ध्यान गएको देखिए पनि न्यायाधीश नियुक्ति प्रक्रियामा चुकेको देखिन्छ ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न मङ्गलवार बसेको संवैधानिक परिषद् बैठक बिना निष्कर्ष बिहीबार बग्नेसरि सकिएको छ ।
सर्वोच्च अदालतमा शुक्रवारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश रिक्त हुँदैछन् । त्यस्तै, उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना र जिल्ला न्यायाधीश ३८ जना रिक्त भैसकेका छन् । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ । ६५ उमेर हदका कारण सेवा निवृत्तका हुँदा शुक्रवारदेखि १४ जना मात्रै न्यायाधीश हुनेछन् । न्यायाधीश नियुक्तका लागि बस्नुपर्ने न्याय परिषद् बस्न सकेको छैन ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश अध्यक्षसहित न्याय परिषद्मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम एक जना न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानुनविद्, नेपाल बार एशोसिएसनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त २० वर्ष अनुभव प्राप्त बरिष्ठ अधिवक्ता वा अधिवक्ता रहने व्यवस्था छ ।