कोशी प्रदेश सभामुख गौतम भन्छन्( मसँग बोल्ने केही छैन – Nagarikabhiyan : National News

कोशी प्रदेश सभामुख गौतम भन्छन्( मसँग बोल्ने केही छैन

देवानगंज ।कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अहिले आफूसँग बोल्ने केही कुरा नभएको बताएका छन्।
कोशी प्रदेशसभाका सभामुख गौतमलाई राजीनामा दिन लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘मसँग बोल्न कुरा नै छैन, छैन, छैन। अहिले राजनीतिमा भन्दा पनि बोल्ने कुरा नै छैन।’

कोशी प्रदेश सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभामुख गौतमले राजीनामा दिने तयारी गरेका हुन्।
माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले राजीनामा दिने जानकारी दिएका हुन्।

कोशीमा नयाँ सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ।

तर गठबन्धन दल कांग्रेसका २९ माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो। एमालेका ४० र राप्रपाका ६ प्रदेश सांसद छन्।