गाडीवालाले सुने, तर रोक्न छोडेनन् – Nagarikabhiyan : National News

गाडीवालाले सुने, तर रोक्न छोडेनन्

धादिङ ज्वालामुखी गाउँपालिकाका सुनिलकुमार श्रेष्ठ काठमाण्डौ पोखरा चल्ने माइक्रो बसको चालक हुनुहुन्छ । उहाँ कलङ्कीमा गाडी रोकेर पोखरा जाने हो भन्दै सडक पेटीमा उभिएका मानिसहरुलाई सोध्दै हुनुहुन्छ । उहाँलाई असार १ गतेदेखि यसरी बीच बाटोमा गाडी रोकेर मान्छे हाल्न तथा ओराल्न पाइन्न भन्ने जानकारी त छ । तर, महानगरले यो निर्णय गरे पनि अहिलेसम्म लागू नै नभएको उहाँ बताउनुहुन्छ ।

हामी त बसपार्कबाट छुटेका छैनौँ । कलङ्कीबाटै छुटिराछौँ । अहिले नियम नै लागू भएको छैन,’ उहाँ भन्नुहुन्छ, ‘यात्रुलाई थाहै छैन । यात्रु हामीले ल्याउँछौँ । कलङ्कीमा झार्छौँ । उता पनि झार्छौँ । यो नियम बसपार्क एरियामा लागू भएको छ । कलङ्कीमा लागू भएको छैन ।’

उहाँका अनुसार महानगरको यो नियम केवल नयाँ बसपार्क क्षेत्रमा मात्र लागू भएको छ । अहिले पनि कलङ्कीमा टिकट काउण्टर छ । र, यात्रुहरु चढाउने तथा ओराल्ने काम पनि भइरहेको छ । उहाँ पनि पोखराबाट काठमाण्डौ आउँदा यात्रुहरु झार्न बसपार्क नै जानुहुन्छ । तर, कलङ्की तथा त्यस वरपरका अन्य ठाउँमा पनि यात्रु झार्ने काम गरिरहनु भएको छ ।

यो नियम कलङ्कीमा त लागू भएकै छैन । यो नियम लागू भए पनि बसपार्कमा त गाडी नै अट्दैन नि । यत्रो कलङ्की, बल्खुमा भएको गाडी बसपार्क गएर त सम्भवै छैन नि,’ उहाँको तर्क छ गर्न सके त राम्रो हो । यसरी कलङ्कीमा जाम पनि हुँदैनथ्यो । बाटोमा जाम पनि हुँदैनथ्यो । राम्रो हुन्थ्यो ।’

काठमाण्डौ महानगरपालिकाले गएको असार १ गतेदेखि काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा छोटो दूरीको गाडी नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको थियो । साथै बसपार्क बाहिर रहेका टिकट काउण्टर हटाउने र त्यसलाई व्यवस्थित गर्न बसपार्कमै टिकट काउण्टर राख्ने निर्णय पनि गरेको थियो ।