बाघको सङ्ख्या बढेसँगै संरक्षण र व्यवस्थापनमा चुनौती थपिएको छ प्रधानमन्त्री प्रचण्ड
१३ श्रावण २०८०, शनिबार १४:१५
काठमाण्डाै –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताउनुभएको छ ।
विश्व बाघ दिवसका अवसरमा शुभकामना दिँदै उहाँले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा निर्धारित अवधि अगावै लक्ष्य पूरा भएको बताउनु भएको हो ।
नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । लक्ष्य तोकिएको अवधिअगावै पूरा भएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गरेकोमा सबैप्रति आभार प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले बाघको सङ्ख्या वृद्धि भएसँगै मानव र बाघबीचमा हुने आपसी द्वन्द्वका घटनामा समेत वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले बाघ र मानिसबीचको सहअस्तित्व कायम राख्न संरक्षित क्षेत्रको प्रभावकारी संरक्षण गरी आहारा प्रजातिको उपलब्धता बढाउन र बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार हुनुपर्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया