बैतडीको श्रीकोटमा मध्यराति जीप दुर्घटना, दुईजना घाइते
१२ श्रावण २०८०, शुक्रबार ०६:३५
बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जीप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
दुर्घटनामा परि जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।
घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा ‘रेफर’ गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
जीपमा चालक र सहचालक मात्रै सवार थिए। जीप सडकबाट १०० मिटर तल खसेको थियो। जीप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया