सार्वजनिक गाडी सफा हुनुपर्छ मन्त्री ज्वाला – Nagarikabhiyan : National News

सार्वजनिक गाडी सफा हुनुपर्छ मन्त्री ज्वाला

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक गाडीका साधन सफा र व्यवस्थित हुनुपर्ने बताउनुभएको छ ।

यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोसाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक गाडीमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनेपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सार्वजनिक गाडी आमनागरिकका साधन हुन् आमनागरिकले प्रयोग गर्ने गाडी सफा र सुग्घर हुनुपर्छ । त्यसैगरी ती गाडीमा सेवा दिने कर्मचारीको बोली र व्यवहारमा पनि परिवर्तन आउनुपर्छ ।

मन्त्री ज्वालाले सार्वजनिक गाडीमा काम गर्ने चालक सहचालक तथा कर्मचारी अनुशासित हुनुपर्ने र उनीहरूको पहिचान खुल्ने गरी अनिवार्यरूपमा पोसाक तथा परिचयपत्र लगाउनुपर्ने सुझाव पनि दिनुभयो ।

यसैगरी मन्त्री ज्वालाले सरसफाइ आममानिसका लागि अति आवश्यक भएकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । आजदेखि मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।