जुम्लामा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा १० जना पक्राउ
६ श्रावण २०८०, शनिबार १९:१४
जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ गाउँपालिकामा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन् । नचिनेका मानिसको समूहले लगाएको आगलागीबाट सात घरमा क्षति पुगेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आगलागीबाट गुठीचौर गाउँपालिका(४ का ६ वटा र चन्दननाथ नगरपालिका(१ का एक घर गरी सातवटा घरमा क्षति पुगेको छ ।
गएराति ११ बजेतिर लागेको आगोबाट धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा क्षति पुगेको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टर र मोटरसाइकलमा समेत आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया