सात वर्षपछि नलगाड जलविद्युत् आयोजनाको डीपीआर तयार – Nagarikabhiyan : National News

सात वर्षपछि नलगाड जलविद्युत् आयोजनाको डीपीआर तयार

जाजरकोट – नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर प्रतिवेदन तयार भएको छ । ३१ महिनाभित्र पूरा गर्नुपर्ने यो प्रतिवेदन सात वर्षपछि तयार भएको हो ।

विसं २०७३ सालमा ३१ महिनाको समय राखेर अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले विस्तृत अध्ययन, बोलपत्र आह्वानको तयारी तथा डीपीआर बनाउने ठेक्का पाएको थियो । नियमानुसार विसं २०७६ सालमा नै डीपीआर तयार गरिसक्नुपर्नेमा सात वर्षपछि मात्र तयार भएको आयोजनाका निर्देशक सुनिल पौडेलले जानकारी दिनुभयो ।

परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले जाँचका लागि नेपाल इञ्जिनियर्स एसोसिएसन ९एनईए० लाई उपलब्ध गराउँदा सकारात्मक प्रतिक्रिया दिएपछि डीपीआरको काम पूरा भएको उहाँले बताउनुभयो ।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि पटकपटक म्याद थपेर ताकेता गरेपछि डीपीआर प्रतिवेदन तयार भएको पौडेलको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए लाई पूर्णता दिनका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो ।

वन मन्त्रालयले सातदिने सू्चना निकालेर पालिका तथा स्थानीय स्तरमा रहेका वन समूहसँग राय, सुझाव माग्ने तयारी भइरहेको आयोजनाका निर्देशक पौडेलले जानकारी दिनुभयो ।यो सुझावलाई एक समिति बनाइ निष्कर्ष निकालिने छ । डीपीआर र ईआईएको सबै काम अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले गरिरहेका छन्उ     हाँले भन्नुभयो ।

डीपीआर प्रतिवेदन प्राप्त भएसँगै नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग जाइका सँग छलफल भएको र त्यस छलफल सकारात्मक भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार लगानीका लागि जाइका तयार भएपछि सम्झौताको तयारी थालिएको हो ।

छिटोभन्दा छिटो सम्झौता गर्ने तयारी भइरहेको भन्दै पौडेलले चार सय १७ मेगावाट क्षमताको त्यस जलविद्युत् आयोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार लगानी जुटाउने प्रयास गरिएको बताउनुभयो । उहाँका अनुसार सुरुआतदेखि नै आयोजनामा लगानी गर्न जापान सरकारले रुचि देखाएको थियो ।