बाढीमा बेपत्ता शवको पहिचान खुल्यो
२ श्रावण २०८०, मंगलवार १८:२३
संखुवासभा :संखुवासभाको चैनपुर नगरपालिका–४ हेँवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ। आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एकजना मजदुरको शव फेला परेको थियो।
उक्त शव बर्दियाका राजाराम थारूको रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीमा हाइड्रोपावरका १७ जना मजदुर बेपत्ता भएका थिए। थारूको शव हाइड्रोपावरको टनेलभित्र शव फेला परेको थियो।
शव आज आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल संखुवासभामा पोष्टमार्टम गरिएको छ। बाढी पहिरोमा परेका १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।
बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढीपहिरोबाट विस्थापित भएका २० घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन्।
चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ। बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया