सहकारी पीडितको गुनासो, सहकारी विभागमा जाँदा उल्टै थर्काउँछन्
१ श्रावण २०८०, सोमबार १०:४४
काठमाडौँ, २८ असार । सहकारीले पैसा खाएर भागेपछि विभागमा उजुरी दिन जाँदा विभागले उल्टै थर्काउने गरेको बचतकर्ताको गुनासो आएको छ । उत्तम बचत तथा ऋण सहकारी संस्था लि।ले आफूले जम्मा गरेको १० लाख रकम फिर्ता नदिई भागेपछि उजुरी गर्न जाँदा उल्टै लागी खानुपरेको पीडित शोभा सिग्देलले बताइन् । सहकारी विभागले तपाईहरुपनि सहकारीको सदस्य हुनुहुन्छ । अध्यक्ष डुब्यो त सदस्यपनि डुब्यो जस्ता वाक्यांश प्रयोग गर्दै थर्काएको गुनासो पोखिन ।
उनी भन्छिन्, ‘सहकारी विभागमा उजुरी गर्न जाँदा उल्टै ‘ब्याजको लोभले तपाईहरु सहकारीमा पैसा राख्नुहुन्छ अनि अहिले समस्या परेपछि हामी कहाँ आउनु हुन्छ । तपाईहरु पनि सहकारीको सदस्य हुनुहुन्छ, अध्यक्ष डुब्यो त सदस्यपनि डुब्यो भन्दै लागी गर्नुहुन्छ ।’
आफूले व्यवस्थित दूध डेरी सञ्चालन गर्न माइतीबाट ३ रुपैयाँ ब्याजदरमा १० लाख रुपैयाँ ऋण लिएको तर ऋण लिएको लगत्तै कोरना लहरले व्यापार व्यवसाय सुस्ताएको देखेपछि पैसा सहकारीमा राखेको सिग्देलले बताइन । सहकारीले आफ्नो बचत फिर्ता नगरी भाग्यो भन्ने खबर सुनेपछि आफूले सहकारीका कर्मचारी, सञ्चालकहरुलाई खोज्दा नभेटिएको र फोन समेत नउठाएको उनको गुनासो छ । उनी विगत १ महिना अघिदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आइरहेकी छिन् ।
फुटपाथमा बसेर धुलो, धुवाँ खाँदै चटपटे बेच्न भन्दा व्यवस्थित रुपमा एउटा डेरी खोलेर बस्ने चाहानाले माइतीबाट ३ रुपैयाँ ब्याजदरमा १० लाख ऋण लिएको उनी बताउँछिन् । ‘एक जना चिनजानको बहिनीले फाइनान्समा पैसा राखेपछि ब्याज आउँछ भन्ने सुझाव दिनुभयो, उहाँ कै सल्लाह अनुसार पैसा यहि राख्छु भनेर राखे ।’ उनी भन्छिन्,‘ अहिले मैले त्यता ब्याज पनि तिर्न सकेको छैन ।’
आफुहरुले शान्तिपूर्वक आन्दोलन गरेको कारण हेपेको बताउँदै उनले अब आन्दोलन चर्काउने र वृहत् आन्दोलन गर्ने चेतावनी दिई की छिन् । अब आफूहरू चुप नबस्ने र जसरी पनि आफ्नो रकम फिर्ता लिएर घर फर्कने उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया