सन् २०३० सम्ममा एचआईभीरएड्सको नियन्त्रण सम्भव छ – Nagarikabhiyan : National News

सन् २०३० सम्ममा एचआईभीरएड्सको नियन्त्रण सम्भव छ

संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियन्त्रण’ सम्भव रहेको बताएको छ । एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम यूएनएड्स ले यस्तो बताएको हो । तर विज्ञहरुले भने अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक मानिएको महामारी एड्स रोक्न सकिने चेतावनी दिएका छन् ।

एड्सलाई सार्वजनिक स्वास्थ्यको खतराको रूपमा अन्त्य गर्न सकिन्छ । लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण लगायतका पक्षमार्फत यो महामारी रोक्न सकिन्छ यूएनएड्सले भनेको छ ।

एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भन्नुभयो,हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौँ, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ भन्ने छ
संयुक्त राष्ट्र सङ्घले सन् २०१५ मा सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य लिएको थियो । ब्यानिमाले एड्सरएचआईभीको अन्त्यका लागि लगानी गरिरहेका देशमा सबैभन्दा ठूलो प्रगति देखिएको बताउनु भएको छ ।

उहाँले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भन्नुभयो,ती देशमा सन् २०१० यता नयाँ एचआईभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ । बोत्सवाना, इस्वातिनी, रूवान्डा, तान्जानिया र जिम्बावेले ९५–९५–९५ प्रतिशतको हाराहारीमा लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । एचआईभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशतले एन्टी–रेट्रोभाइरल उपचार गराइरहेका छन्

कम्तीमा पनि १६ वटा देश यो लक्ष्य हासिल गर्ने उद्देश्य नजिक पुगेका उहाँले बताउनु भयो । ९५ प्रतिशत लक्ष्य हासिल गर्ने देशमा ६५ प्रतिशत एचआईभी सङ्क्रमित बसोबास गर्ने उप–सहारा अफ्रिकाका आठ वटा देश र डेनमार्क, कुवेत र थाइल्याण्डलगायतका आठ वटा देश रहेका छन् ।

यूएनएड्सले एक प्रतिवेदनमा भनेको छ,दुई दशकअघि एड्सको महामारी रोक्न नसकिने जस्तो देखिन्थ्यो, हरेक वर्ष २५ लाखभन्दा बढी मानिस एचआईभी सङ्क्रमित हुने र एड्सले वार्षिक २० लाख मानिसको ज्यान लिने गरेको थियो । तर अहिले त्यो तथ्याङ्क नाटकीय रूपमा परिवर्तन भएको छ

यूएनएड्सका अनुसार सन् २०२२ मा विश्वमा तीन करोड ९० लाख मानिस एचआईभी सङ्क्रमित थिए जसमध्ये दुई करोड ९८ लाखले एन्टी रेट्रोभाइरल थेरापीको प्रयोग गरिरहेका छन् । यो सेवाबाट छुट्नेमा छ लाख ६० हजार बालबालिका रहेका छन् ।

सन् २०१० मा एन्टी–रेट्रोभाइरल उपचार गराइरहेकाको सङ्ख्या ७७ लाख रहेकोमा अहिले यो सङ्ख्या चार गुणाले वृद्धि भएको छ । यसबाहेक, एचआईभी सङ्क्रमित ८२ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलाहरूले सन् २०२२ मा एन्टी–रेट्रोभाइरल उपचारको पहुँच पाएका थिए । यो सङ्ख्या सन् २०१० मा ४६ प्रतिशत थियो ।