साउदीमा कार्यरत श्रमिकले अनलाइनमार्फत दूतावासमा आफ्नो गुनासो राख्न सक्ने – Nagarikabhiyan : National News

साउदीमा कार्यरत श्रमिकले अनलाइनमार्फत दूतावासमा आफ्नो गुनासो राख्न सक्ने

काठमाण्डौ –साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ ।
समस्यामा परेकाहरूले सहज रूपमा दूतावासमा आफ्नो समस्याहरू राख्न सकुन भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको दूतावासले जनाएको छ ।

यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतहरूलाई कुनै अप्ठेरो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्नो कुरा राख्न सक्छन् ।
यो व्यवस्थाले पहिलेजस्तो दूतावासको कार्यालय नै पुग्न पर्ने वा फोन गर्नु पर्ने बाध्यता हटेको छ ।

दूतावासमा भौतिक उपस्थित हुनु पर्ने वा फोनबाट समस्या राख्दा फोन नउठ्ने लगायतको समस्या श्रमिकले भोग्दै आएका थिए ।
अब भने अनलाइनमार्फत श्रमिकले राखेका समस्या तथा गुनासो उपर तत्कालै आवश्यक समन्वय थालिने दूतावासले जाएको छ । दूतावासले समस्या समाधानका लागि के कस्तो पहल र प्रयासहरू गरिरहेको छ भन्ने जानकारी पनि अनलाइनमार्फत नै श्रमिक आफैँले हेर्न सक्नेछन् ।
आफूले राखेको गुनासो उपर के भइरहेको छ भनेर दूतावासमा सम्पर्क गरिरहन पर्ने बाध्यता पनि यो प्रणालीले हटाएको दूतावासले जनाएको छ ।