तिलिचो ताल क्षेत्रबाट १ सय ५० किलो फोहर सङ्कलन स् चाउचाउ बिस्कुट चकलेटका खोल धेरै – Nagarikabhiyan : National News

तिलिचो ताल क्षेत्रबाट १ सय ५० किलो फोहर सङ्कलन स् चाउचाउ बिस्कुट चकलेटका खोल धेरै

मनाङ –अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाइ गरिएको छ ।
फोहरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहर सङ्कलन गरिएको हो ।

तालमा आवातजावतका क्रममा पर्यटकले फालेका एक सय ५० किलोग्राम फोहर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमणपछि पछिल्लो समय यस पदमार्गमा पर्यटक बढेसँगै फोहरमैला हुने क्रम बढेको उहाँको भनाइ छ ।

विदेशीले आफैँ बोकेर फर्किन्छन् भने आन्तरिक पर्यटकले बढी फोहरजन्य पदार्थ फाल्ने गरेको पाइएको छ’, गौतमले भन्नुभयो, ‘ताल जाने बाटोमा विभिन्न ठाउँमा डम्पिङ साइट बनाइएको छ तर फोहरमैला भने यत्रतत्र फालिएको पाइयो ।’
तीन दिनसम्म चलेको ‘पदमार्ग सफाइ’ अभियनमार्फत पदमार्गमा धेरैजसो चाउचाउ, बिस्कुट, चकलेटका खोल र कोकाकोलाको बोतल भेटिएको उहाँले बताउनुभयो । ती जथाभाबी फालिएका फोहरमैला डम्पिङ साइटमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।