संघीय संसदका दुवै सदनको बैठक आज, हट्ला त विपक्षीको अवरोध
२४ असार २०८०, आईतवार ०६:१५
काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर गत मंगलबारदेखि संसद् अवरुद्ध छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर दुवै सदन चल्न दिएको छैन।
राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेर ३१ मिनेटमा बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ। यद्यपी आजका दुवै बैठक एमालेले चल्न नदिने अडानमा छ। एमालेका प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्रीको राजीनामा नआउन्जेल सदन कुनै पनि हालतमा पनि चल्न नदिने बताए।
संसद्का काम कारबाही नियमित गराउन सभामुखले प्रधानमन्त्री दाहाल र एमाले संसदीय दलका नेता केपी शर्मा ओलीबीच संवाद गराउन प्रयास गरे पनि शनिबार त्यो सम्भव भएन।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय यातायात व्यवसायी सरदार प्रितम सिंह पटक(पटक दिल्ली धाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादित अभिव्यक्तिले उनी पदमा रहिरहने नैतिक आधार गुमाएको निष्कर्षका साथ एमालेले संसद् अवरुद्ध गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया