खानेपानीको मुहानमा भेटियो दिसामा पाइने ‘कोलीफर्म’
२३ असार २०८०, शनिबार १८:२३
बाग्लुङ –बाग्लुङका ७७ वटा मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका १० पालिकाबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको हो ।
हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताउनुभयो । उहाँका अनुसार निसीखोलामा मात्रै सात ठाउँका खानेपानी मुहानको नमुना परीक्षण गरिएको छ ।
चालु आर्थिक वर्षमा दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी परीक्षण गरिएकामध्ये ७७ खानेपानीको मूल तथा धारामा कोलीफर्मको मात्रा देखिएको आचार्यले बताउनु भयो । ुनिसीखोला–६ मा अधिकांश विद्यार्थीमा झाडापखला र टाइफाइड जस्ता सरुवा रोग देखिएको थियो, स्वास्थ्य चौकीबाट धेरै विद्यार्थी बिरामी भएको जानकारी आएपछि भलकोटका विद्यालयमा वितरण गरेको खानेपानी परीक्षण गर्दा कोलीफर्म भेटिएको थियोु, उहाँले भन्नुभयो, ुस्वास्थ्य कार्यालयले अहिले विद्यालयमा वितरण गरिरहेको खानेपानीको मुहान र धारामा परीक्षण गर्ने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षमा ७७ खानेपानीका मुहान र धारोमा कोलीफर्मको मात्रा देखिएको छ ।ु

फेसबुकबाट तपाईको प्रतिक्रिया