मेची राजमार्ग अवरुद्ध दर्शन गर्न आउने भक्तजन प्रभावित
२२ असार २०८०, शुक्रबार ०७:१९
ताप्लेजुङ –दुई हप्तादेखि मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित भएका छन्। मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिरोले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको सङ्ख्या घटेको हो ।
विभिन्न जिल्लाबाट आएका गाडी ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनको सङ्ख्यामा कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो।
गएको असार ३ गते राति वर्षासँगै गएको बाढीपहिरोले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सम्पर्क विच्छेद भएको छ ।
विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले एक सयभन्दा कम हुन थालेको महतले बताउनुभयो । समयमै पुल नबन्दा यात्रुले सास्ती खेप्नु परेको छ । ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवा खोलावारिसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर पारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ ।
तीन हप्ता भइसक्दा पनि राजमार्ग पुनः सञ्चालनमा आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया