राजनीतिमा आउन पूर्वराष्ट्रपति भण्डारीको ‘वार्मअप’
१९ असार २०८०, मंगलवार २१:२८
काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सात वर्षपछि गत १४ असारमा राजनीतिक प्रकृतिको कार्यक्रममा सहभागी भइन् । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि थिइन् ।
फाउण्डेसनकै संरक्षक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि रहेको त्यो कार्यक्रममा मदनको योगदानबारे चर्चा मात्रै नगरेर पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सन्देश पनि दिइन् । उनको भनाइ थियो, ‘मुलुकको राजनीतिक संरचनामा परिवर्तन आए पनि नेपाली क्रान्तिको कार्यभार पूरा भएको छैन ।’
११ कात्तिक २०७२ मा राष्ट्रपति बनेपछि भण्डारी राजनीतिक प्रकृतिका कार्यक्रमहरूबाट अलग भएकी थिइन् । गत २९ फागुनमा राष्ट्रपतिको दोस्रो कार्यकाल समेत सकिएपछि भण्डारी संभवतः पहिलो पटक फाउण्डेसनको ब्यानरमा सार्वजनिक कार्यक्रममा सहभागी भइन् । ‘यो फाउण्डेसन नै उहाँ विद्या भण्डारी को हो, आफ्नै संस्थामा आवश्यक परेको काम गर्न सक्नुहुन्छ’, फाउण्डेसनकी सचिव पेम्बा लामा भन्छिन् ।
फाउण्डेसनको कुनै औपचारिक पदमा नरहे पनि राजनीतिक लिगेसी र संस्थाको उद्देश्यसँग पूर्वराष्ट्रपति भण्डारी जोडिएको उनी बताउँछिन् । ‘आफैं संस्थापक भएर जन्मिएको संस्थामा कार्यक्रम बनाएर हिंड्न सक्नुहुन्छ, केही अप्ठ्यारो छैन’, सचिव लामा भन्छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया