जिल्ला अदालत ललितपुर अगाडि कानुन व्यवसायीको प्रदर्शन – Nagarikabhiyan : National News

जिल्ला अदालत ललितपुर अगाडि कानुन व्यवसायीको प्रदर्शन

कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुर अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अदालतको कामकाज प्रभावित भएको छ ।

गएको असार १३ गते ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेका थिए । हातपात गर्ने अधिवक्ता लामिछानेविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ । अधिवक्ता लामिछानेलाई हिजो आइतवार पक्राउ गरेकोमा साधारण तारेखमा छाडिएको छ ।

लामिछानेको पक्राउ र मुद्दा चलाउने प्रक्रियाका विरुद्ध नेपाल बार एसोसिएशनको आह्वानमा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । नासु प्रेमिकाले आदेश हेर्न घुस मागेको भन्दै कानुन व्यवसायीहरूले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगरि आन्दोलन गरिरहेका छन् ।

विरोध प्रदर्शनमा कानुन व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको मुद्दा झुटो भएको भन्दै मुद्दा अविलम्ब खारेज हुनुपर्ने माग राख्नुभयो । उहाँले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरूको तत्काल सरुवा हुनुपर्ने बताउनुभयो ।

अर्का कानुन व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानुन व्यवसायीहरूमाथि लागेको मुद्दा रहेको टिप्पणी गर्नुभयो ।

कानुन व्यवसायी सुनिल पोखरेलले यो मुद्दा कानुन व्यवसायी र कर्मचारीबीचको झगडा नभई संस्थागतरूपमा कानुन व्यवसायीहरूलाई बदनाम गर्नका लागि साङ्गठनिकरूपमा लागेको देखिएको दाबी गर्नुभयो ।