प्रधानमन्त्री दाहालको चीन भ्रमणको गृहकार्य – Nagarikabhiyan : National News

प्रधानमन्त्री दाहालको चीन भ्रमणको गृहकार्य

काठमाडौँ — सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य गरेको छ । तेस्रो पटक सत्ताको नेतृत्व गर्ने अवसर पाएपछि जेठमा पहिलो विदेश भ्रमण भारतबाट गरेका प्रधानमन्त्री दाहालले चीन यात्राको तयारी थालेका हुन् ।

चीनले यसअघि चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन निम्ता गरे पनि प्रधानमन्त्री दाहाल गएका थिएनन् । चिनियाँ राजदूत छन सोङले फागुन १० मा दाहाललाई भेटेर बोआओ फोरममा सहभागिताका लागि निम्तो दिएका थिए ।

दाहालको बेवास्ताप्रति बेइजिङले सार्वजनिक रुपमा नबोले पनि आन्तरिक रुपमा असन्तुष्टि जनाएको थियो, सोही कारण उनलाई छिट्टै भ्रमणमा बोलाउने योजनामा बेइजिङ थिएन,’ परराष्ट्र स्रोतले भन्यो, ‘चिनियाँ पक्षलाई आश्वस्त पार्न र भ्रमणका लागि वातावरण मिलाउन दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका हुन् ।’ स्रोतका अनुसार चीनमा आगामी नोभेम्बर वा डिसेम्बरमा हुने १० औं बेल्ट एन्ड रोड इनिसिएटिभबीआरआई सम्मेलनभन्दा अगाडि नै भ्रमण गर्ने दाहालको चाहना छ ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ चीनको सिचुवान प्रान्तमा भएको पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी भएर फर्किएका हुन् । उनले भ्रमणका दौरान चीनका उपप्रधानमन्त्री ही लिफङसँग भेटवार्ता गरेका थिए । उक्त अवसरमा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको उनले बताएका छन् ।