एमालेमा भीम रावललाई जिम्मेवारी समिति हरायो, नतिजा आएन – Nagarikabhiyan : National News

एमालेमा भीम रावललाई जिम्मेवारी समिति हरायो, नतिजा आएन

नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा।भीमबहादुर रावलसँग जिम्मेवारी दिने भन्दै एक चरण वार्ता गरेको थियो। त्यो वार्ता सकारात्मक भएको कुरा सार्वजनिक गरिए पनि दोस्रो चरणको वार्ता अथवा रावललाई जिम्मेवारी दिने कुराको टुंगो भने लागेको छैन।

एमालेको १० औं महाधिवेशनपछि पार्टीको कुनै जिम्मेवारीमा नरहेका रावल अहिले पार्टीमा निष्क्रियजस्तै अवस्थामा छन्।
बेलाबखत रावलले एमाले नै छोड्ने चर्चा चले पनि उनले आफूले लामो समय पार्टी निर्माणमा योगदान पुर्‍याएको भन्दै एमालेमै बस्ने बताउँदै आएका छन्।

सोही क्रममा केही समयअगाडि एमालेले चलाएको मिसन ग्रास रुट अभियानका क्रममा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए। अछाममा उनले रावलको आलोचना गरेपछि सभामै रावलका कार्यकर्ताले प्रतिवाद गरेका थिए।

त्यसपछि पनि रावल र पौडेलको आपसमा जुहारी नै चलेको थियो। उनीहरुले एकअर्काको आलोचना गरेका थिए। सो घटनापछि एमालेले गत चैत १८ गते पार्टीको केन्द्रीय सचिवालय बैठकबाट रावलसँग वार्ता गर्न भन्दै समिति गठन गरेको थियो।

उपाध्यक्ष पौडेलकै संयोजकत्वमा गठित उक्त वार्ता समितिमा पार्टीका सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सदस्य थिए।

सुदूरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरूट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदूरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदुरपश्चिमकै नेताहरू रहेको वार्ता समिति बनाइएको थियो।