हेवाखोला तर्न सहारा – Nagarikabhiyan : National News

हेवाखोला तर्न सहारा

पाँचथर –  पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलामा ओहोरदोहोरका लागि फड्के पुलको निर्माण गरिएको छ । बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको मोटरेबल पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि आवतजावतका लागि हिजो फड्के पुलको निर्माण गरिएको हो ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली, सुरक्षा निकायको सक्रियतामा बाँसको फड्के बनाइएको हो । यसअघि तुइनको माध्यमबाट खोला पार गर्दै आएका यहाँका नागरिकले हिजोदेखि भने बाँसको फड्केबाट खोला तरिरहेका छन् ।

असार २ गते शनिवार राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक र तमोर करिडोरको बेलीब्रिज बगाएको हो । बाढीका कारण ताप्लेजुङ जिल्ला, पाँचथरकै फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने सडक सम्पर्क एक हप्तादेखि टुटेको छ । तर हप्तादिन बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माणको काम भने हुनसकेको छैन ।

एक हप्ता बित्न लाग्दा पनि डाइभर्सनको काम पूरा नहुँदा हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासी समस्यामा परेका छन् । बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले जतिसक्दो चाँडो डाइभर्सनको काम सक्नुपर्ने बताउनु भयो । ुपाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो । ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियोु उहाँले भन्नुभयो। उहाँले ताप्लेजुङमा खाद्यान्नको अभाव हुने भएकाले तत्काल डाइभर्सन र बेलीब्रिज बनाउन आग्रह गर्नुभयो ।

डाइभर्सन निर्माणका लागि शनिवार आठवटा ह्युमपाइप ल्याइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाले बताउनु भयो । डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको उहाँले बताउनु भयो ।