काठमाण्डौ महनगरलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने
७ असार २०८०, बिहीबार ०९:२४
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने जनाएको छ ।
महानगरले खुला सङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटन स् महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कलाकारसँग सहकार्य गरी स्वर्णिम योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने नीति पनि कामपाले लिएको छ ।
नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ । निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि टेवा पुर्याइनेछ । बौद्धनाथ र स्वयम्भूलाई महानगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक समन्वय र कानूनी प्रबन्ध गरिने नीति पनि कामपाले लिएको छ ।
स्थानीय समुदाय तथा विज्ञको समन्वय र सहयोगमा सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेशलाई निषेध गरिनेछ । सम्पदा संरक्षण र प्रवर्द्धन हुने परम्परागत शैलीका घर निर्माण गर्न घरधनीलाई प्रोत्साहित गरिनेछ । हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको ‘हेरिटेज वाक’ लाई सञ्चालन गर्नेगरी कार्यक्रम अघि बढाइनेछ ।
कामपा वडा नम्बर ३२ मा रहेको तिनकुनेको जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि सङ्घीय सरकारसँग ठोस पहल गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइनेछ ।
सवारी साधनको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया