पोखरा भ्रमणका लागि महानगरद्वारा चिनियाँ नागरिकलाई निम्तो
६ असार २०८०, बुधबार १४:४७
काठमाण्डौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रममा मेयर धनराज आचार्यले चिनियाँ नागरिकहरुलाई पोखरा भ्रमणको निम्तो दिनुभएको छ ।
कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताउनु भयो ।
यो उडानसँगै चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको पनि उहाँले बताउनु भयो । उहाँले चीनले आगामी दिनमा पनि विभिन्न मुख्य सहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरुमा पनि त्यहाँका विभिन्न मुख्य सहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु । म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरुलाई आग्रह गर्दछु । अब दुई देशबीचको भावनात्मक र पर्यटनको लागि सम्बन्ध बिस्तार हुने अपेक्षा राखेको छु ।’
त्यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा। धनञ्जय रेग्मीले नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरुको वृद्धि हुने बताउनुभएको छ ।
उहाँले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरु पोखरा आउने सम्भावना उच्च रहेको बताउनु भयो । उहाँले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समय समयमा विभिन्न फेस्टिबलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरु वृद्धि गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरु पनि यहाँबाट बढाउँदै लैजान सकियो भने विमानस्थल नियमित सुरु हुनसक्छ । मुस्ताङबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ । यो मुख्य आकर्षणको केन्द्र हुन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया