बालेनलाई रोक्न र छेक्न सजिलो छैन
४ असार २०८०, सोमबार १७:४५
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह यति बेला देशभित्र मात्र होइन, देशबाहिर समेत चर्चामा छन् । उनको फेसबुक स्टाटसमा हजारौँको कमेन्ट, शेयर र लाइकको वर्षा हुने गरेको छ । केही दिनदेखि भारतका सामाजिक सञ्जाल प्रयोगकर्तामा समेत बालेन नाम ट्रेन्डिङ भइरहेको छ । भारतीय राजनीति र चलचित्र उद्योगमा उनीबारे सोधीखोजी बढेको छ ।
जेठको अन्तिम हप्ता भारतीय संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सालाई जवाफ दिँदै बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेर राष्ट्रियताप्रति आफ्नो धारणा सार्वजनिक गरे । लगत्तै भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सन्देश मेटाउन तीन दिनको भाका दिएर त्यो नभए सबै भारतीय सिनेमा महानगरमा देखाउन नदिने चेतावनी पनि दिए । उनको चेतावनीले भारतीय सञ्चारमाध्यममा मुख्य ठाउँ पायो । बलिउडमा खैलाबैला मच्चिएपछि ‘आदिपुरुष’ चलचित्रका लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपाल १ सय १७ वर्षअघि भारतकै अंश रहेको विवादित बयान दिए । पहिले दिएको चेतावनी बमोजिम बालेनले सोमवारदेखि काठमाण्डौको सिनेमा हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाए ।
भारतीय चलचित्रलाई महानगरमा प्रदर्शन हुन नदिनेबारे सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’
बालेनले उल्लेख गरेको यो प्रावधानअनुसार राष्ट्रिय हितको संरक्षण गर्ने पहिलो दायित्व सङ्घको हुनुपर्ने हो । अर्थात् अहिले ‘आदिपुरुष’ चलचित्रमा उल्लेख आपत्तिजनक संवाद र त्यसका लेखक मुन्तशिरको खेदजनक अभिव्यक्तिबारे प्रधानमन्त्री या परराष्ट्रमन्त्रीले औपचारिकरूपमै कुरा राख्नुपथ्र्यो । हुन त कसैले बोलेकै र चलचित्रमा संवाद आएकै भरमा इतिहासको वास्तविकता मेटिने होइन । तर चलचित्रले जनमानसमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले नेपालको इतिहास, संस्कृति र राष्ट्रियताबारेको गलत सन्देश फैलिन सक्छ । यस्तो सन्देश फैलिन नदिनका लागि सङ्घीय सरकारकै तर्फबाट बेलैमा उचित कदम चाल्नुपथ्र्यो । तर राष्ट्रियताको सवालमा दोहोरो चरित्र देखाउँदै आएका प्रधानमन्त्री, मन्त्री र जिम्मेवार नेताहरूले यसबारे चुइँक्क बोल्ने आँट नगर्दा बालेनले आम नेपालीको भावनाअनुसार भारतीय पक्षलाई खबरदारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया