नयाँ बसपार्कमा मात्रै यात्रु ओराल्ने र चढाउने निर्णय पूर्ण रुपमा कार्यान्वयन भएन – Nagarikabhiyan : National News

नयाँ बसपार्कमा मात्रै यात्रु ओराल्ने र चढाउने निर्णय पूर्ण रुपमा कार्यान्वयन भएन

काठमाण्डाै –  दमौलीका सञ्जय पौडेल घर जान कलंकीमा पोखराको गाडी कुरिरहनु भएको छ । उहाँलाई काठमाण्डौ महानगरपालिकाले शुक्रवारदेखि नै नयाँ बसपार्कबाहेक अन्यत्र गाडी रोक्न नपाउने र यात्रु राख्न तथा झार्न नपाइने सूचना निकालेको थाहा छ ।

पौडेल भन्नुहुन्छ, ‘थाहा नभएको होइन । मेरो कोठा यहाँ कलंकी नजिकै छ । अब दमौली जान बसपार्क गएर फेरि कलंकी हुँदै जाने कुरा पनि त भएन । यो निर्णय हामीजस्ता यात्रुलाई भने त्यति सुहाउँदो भएन ।’

पौडेल पोखरा जाने माइक्रोबस चढेर जानुभयो । शुक्रवार कलंकी चोकमा ठूला गाडीहरु नरोकिए पनि साना माइक्रोबसहरु भने रोक्ने तथा यात्रु हाल्ने क्रम यथावत नै थियो । पोखराका केही माइक्रोबसहरुले बाटोमा राख्दा कारबाही हुने डरले होला बाटोसँगै बिसौनी नै बनाएका थिए । काठमाण्डौ बाहिर जाने ठूला गाडीहरु भने ‘पिक एण्ड ड्रप’ अर्थात् बाटोमा नरोकी भएको मान्छे हाल्दै गुडिरहेका थिए । यसले काठमाण्डौ बाहिर जाने गाडी रोकेका कारण हुने कलंकीको जाम भने निकै कम भएको थियो ।