बचतकर्ता, सञ्चालक र नियामक निकायकै कारण सहकारीमा समस्या थपिँदै
२७ जेष्ठ २०८०, शनिबार १४:१४
उदयपुर गाईघाट नगरपालिका–१० घर भइ काठमाण्डौ वसुन्धरा बस्ने शोभा सिग्देल आफूले पैसा राखेको सहकारीले पैसा फिर्ता नदिएपछि तनावमा हुनुहुन्छ । जेठको उखरमाउलो गर्मीको पर्वाह नगरी उहाँ सहकारी सञ्चालकविरुद्ध माइतीघरमा भइरहेको आन्दोलनमा सहभागी हुनुहुन्छ । सञ्चालकले बचतकर्ताको पैसा हिनामिना गर्दै फरार भएपछि आफ्नो पैसा फिर्ता पाउनुपर्छ भन्दै उहाँ पनि प्लेकार्ड बोकेर नारा लगाउँदै हुनुहुन्छ ।
४५ वर्षीय सिग्देलले दुई वर्ष अगाडि आफन्तसँग सयकडा तीन रुपैयाँ ब्याज तिर्नेगरी वडामा गएर कागज गर्दै १० लाख रुपैयाँ ऋण लिनु भएको थियो । महानगरले फुटपाथमा पसल राख्न नदिने भएपछि ऋण गरेर भए पनि दूध डेरी खोल्नुपर्यो भनेर उहाँले ऋण लिनु भएको हो । तर, कोभिडका कारण २०७७ चैतमा लकडाउन भयो । लकडाउन भए पनि ब्याज त तिर्नैपर्छ भनेर उहाँले त्यो पैसा काठमाण्डौ वसुन्धराको उत्तम बचत तथा ऋण सहकारी संस्थामा राख्नुभयो ।
तर, एक वर्षपछि अवस्था केही सहज भएपछि व्यापार सुरु गर्नुपर्यो भनेर उहाँ पैसा झिक्न भनेर जानुभयो । तर, सञ्चालकले पख्नुस्, आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै भाका सार्दै आए, पैसा अहिलेसम्म दिएका छैनन् । यही पैसाका कारण उहाँको माइती, मावली र आफन्तसँगको सम्बन्ध बिग्रिएको छ । डेरा भाडा तिर्नसक्नु भएको छैन । केटाकेटीको स्कुलका पैसा तिर्न बाँकी छ । व्यवहार सबै यही पैसाका कारण बिग्रिएको छ ।
‘अरु सबै यहाँबाट छोडेर हिँडे पनि म चाहिँ पैसा नपाएसम्म जान्न । मेरो अब शरीरमा लुगादेखि बाहेक केही छैन । गएर पनि कहाँ जाने रु’ उहाँ प्रश्न गर्नुहुन्छ ।
यस्तै व्यथा छ बूढानीलकण्ठ नगरपालिका–२ का ददीराम सिटौलाको पनि । चाबहिलमा फेन्सी पसल चलाउने सिटौलाले खुसी बचत तथा ऋण सहकारी संस्थामा व्यापार भएको रकममध्ये दैनिक, दैनिक सय, दुईसय देखि हजार रुपैयाँसम्म बचत गर्नुहुन्थ्यो । अनि अलि बढी ब्याज दिन्छु भनेर पनि उहाँले १० लाख रुपैयाँ बचत गर्नुभयो झण्डै पाँच वर्ष अगाडि ।
दुई वर्ष अगाडिदेखि उहाँ पैसा चाहियो भनेर सहकारीमा धाइरहनु भएको थियो । हुन्छ, दिन्छौँ तपाईँको ब्याज आइरहेकै छ भनेर उहाँलाई पासबुक देखाउने गरियो । तर जब तीन महिना अगाडि उहाँ पैसा नभइ हुन्न भनेर जानुभयो त्यसको पन्ध्र दिन पछाडि आउन भनियो । तर, १५ दिन पछाडि जाँदा त्यसको दुई दिन अगाडि नै कार्यालयमा ताला लागिसकेको थियो ।
गोंगबु, न्युरोड तथा चाबहिलमासमेत शाखा रहेको सहकारीले पहिले चाबहिल शाखा बन्द गर्दै त्यस शाखाबाट पाइरहेको सुविधा अन्य शाखाबाट पाउने सूचना निकाल्यो । अरु शाखामा जाँदा अन्य ठूला सहकारीसँग मर्जर हुन लागेकोले २१ दिन भित्र सबै काम हुन्छ भन्ने सूचना टाँसियो । चैत २७ गतेपछि सबै शाखामा तलाबन्दी गरेर सञ्चालक फरार भए ।
लगानी गरेको पैसा उठेको छैन उठेपछि दिन्छौँ भन्दै आश्वासन दिँदै सञ्चालकहरुले झुक्याएर फरार भएको बताउनुहुन्छ सिटौला । उहाँ भन्नुहुन्छ, ‘सहकारी खोल्न लाइसेन्स दिने तर, पैसा उठाएर भागेपछि भने सरकारले वास्ता नगर्ने भन्ने पनि हुन्छ । के के कहाँ कहाँ लगानी छ त्यो हेरेर बचतकर्ताको पैसा फिर्ता गर्दिनुपर्यो सरकारले ।’
आफ्नो कार्यस्थल वरपर नै दैनिक सानोदेखि ठूलो रकमसम्म बचत गर्न सहकारीको कार्यालयमा गइरहनु नपर्ने अनि थोरै रकम ऋण आवश्यक पर्दा धितो तथा बैंकमा जस्तो कागजपत्रको झन्झट नहुँदा बचत तथा ऋण सहकारी लोकप्रिय भएको देखिन्छ । वाणिज्य बैकमा भन्दा ब्याज बढी पाइने लोभमा पनि ठूला रकम सहकारीमा राख्ने अनि बचतकर्ता ठगीने गरेको पाइन्छ ।
यस्तै ब्याजमा लोभिँदा आफ्नो ठूलो रकम डुबेको बताउनुहुन्छ काठमाण्डौ बालाजु निवासी सुशीला मानन्धर । उहाँको परिवारका सदस्यहरुको गरेर झण्डै ४०र४५ लाख रुपैयाँ लसकुस सहकारीमा बचत रहेकोमा अहिले त्यो डुब्ने अवस्था आएपछि माइतीघरमा आन्दोलनमा हुनुहुन्छ । झण्डै चार वर्षदेखि पैसा फिर्ता दिन्छु भने पनि उहाँहरुको पैसा फिर्ता भएको छैन । सञ्चालकले पटक पटक फिर्ता दिन्छु भनेर नदिएपछि उहाँहरुले प्रदेश राजधानी हेटौंडामा पनि उहाँले हाल्नुभयो । तर, त्यसको पनि खासै सुनुवाइ भएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया