नक्कली शरणार्थी प्रकरण पहिलो जाहेरीकर्ता बुढाथोकीविरुद्ध नै दाङमा ठगी मुद्दा
२४ जेष्ठ २०८०, बुधबार ०८:०२
२४ जेठ, काठमाडौं नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेका खुलासा भएको छ ।
आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै प्रहरीलाई ठगीको उजुरी दिएका उनीमाथि जिल्ला अदालत दाङमा एक करोड ४९ लाख रुपैयाँ बिगो माग दाबीसहित ठगी मुद्दा चलेको हो ।
मंगलबार जिल्ला अदालतमा चलिरहेको बहसका क्रममा जाहेरीकर्ताहरुको तर्फबाट बहस गर्दै अधिवक्ता दिपकराज रेग्मीले उजुरी दिएका पीडितविरुद्ध नै जिल्ला अदालतमा ठगी मुद्दा चलेको बताए
‘दाङका रामकुमार रेग्मीले अमेरिका जान पाउने भएपछि रकम दिए, उनको कुरा सुनेपछि विश्वासमा परेका परिवारका सबै सदस्यले रकम बुझाए, अनि आफन्तले समेत गजेन्द्र बुढाथोकीलाई पैसा बुझाए,’ उनले भने, ‘यहाँ ठगीको बारेमा सुरुमा जाहेरी दिने दाङका गजेन्द्र बुढाथोकी हुन्, उनैविरुद्ध गत फागुनमा जिल्ला अदालत दाङमा ठगी मुद्दा चलिरहेको छ । त्यो मिसिल झिकाइ पाँऊ ।’
जाहेरीमा दाङकै राजु केसी लगायतले आफू लगायतलाई अमेरिका पठाइदिन्छु भनी पटकपटक रकम लिएको विवरण खुलाएका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट १५ देखि ३० लाख उठाएको र पछि अमेरिका नपठाएपछि खोजतलास गर्दा गजेन्द्र सम्पर्कबिहीन भएको दाबी गरेका छन् ।
जाहेरीमा भनिएको छ, ‘अमेरिका पठाइदिन्छु भनी हामीबाट नगद पैसा लिइ झुक्याइ धोका दिइ बेइमानी गरी ठगी गर्ने बुढाथोकीलाई हदैसम्मको कारवाही गरी उल्लेखित रुपैयाँ दिलाइ भराइ पाउँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया