शरणार्थी प्रकरणमा न्यायाधीश र सरकारी वकिलबीच टक्कर, ब्यूँतियो गौर हत्याकाण्ड
२२ जेष्ठ २०८०, सोमबार ०८:१६
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तबारे आइतबारदेखि थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस शुरु भएको हो । अभियुक्तहरुको थुनछेक बहस चलिरहँदा न्यायाधीश न्यौपानेले नक्कली भुटानी शरणार्थी बनेर अमेरिकामा जान तयारहरुलाई पनि कारबाही गर्नुपर्ने विषयमा कुरा उठाएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता महेश खत्रीसँगको सवाल जवाफका क्रममा न्यायाधीश न्यौपानेले नक्कली शरणार्थी बन्न तयारहरुको पनि दोष किन नहुने भनेर प्रश्न उठाएका हुन् ।
‘नेपाली नागरिकता त्याग्न तयार भएकाहरु, आफ्नो नाम ठेगाना बदल्दै नेपाली नभएर भुटानी शरणार्थी बनेर जान तयार हुनेहरुको पनि केही दोष त होला निरु’, उनले सरकारी वकिललाई सोधे, ‘संविधानको धारा ४८ मा नागरिकका पनि कर्तव्यका कुरा छन्।’ न्यायाधीश न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा सरकारी वकिल खत्रीले यसअघि १ लाख १३ हजार भुटानी शरणार्थी पुनः स्थापना गर्दै केही नेपाली अमेरिका छिरेको खुलाए । ‘यसअघि १ लाख १३ हजार भुटानी शरणार्थी अमेरिकासहितका देशमा पुनः स्थापनाका लागि जाँदा पनि केही नेपाली छिरेका रहेछन्, उनले जवाफमा भने, ‘उनीहरुको पनि केही बाध्यता होला । तर जाहेरवाला ९ठगिएकाहरु० पनि प्रतिवादी बनेर आउँछन्। उनीहरुमाथि पनि कारबाही हुन सक्छ।’ तर न्यायाधीश न्यौपानेले ठगिएको भनिएकालाई किन प्रतिवादी नबनाइएको भनेर सोधेको प्रश्नमा खत्रीले आवश्यक प्रमाण नपुगेको बताए ।
ब्यूँतियो गौर हत्या काण्ड
रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर आइतबार मुद्दा दर्ता गरेका हुन् । गौर हत्याकाण्डविरुद्धको मुद्दाको पेशी जेठ २२ गते सोमबारकालागि तोकिएको छ । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ । रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुँदा २६ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । झडपमा कैयौ घाईते भएका थिए ।
रास्वपाले दर्ता गरायो सङ्कल्प प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ । डेङ्गु रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराइएको रास्वपाका सचेतक सन्तोष परियारले जानकारी दिए । गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोग फैलिएको, २८ हजार एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख श्रेष्ठले यो वर्ष बेलैमा सावधानी अपनाउन माग गरेका छन् । सङ्कल्प प्रस्तावमा डेङ्गु रोगका विषयमा व्यापक जनचेतना जोगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षकलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।
बालेनको एक्सनमा मन्त्रालय सक्रिय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शैया विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । आइतबार मन्त्रालयले पुनः पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल र सबै स्थानीय तहलाई विपन्न र लक्षित वर्गका लागि १० प्रतिशत शैया छुट्याएर निःशुल्क सेवा दिन निर्देशन दिएको हो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेबारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट पुष्टि गर्न स्थानीय तहलाई पनि पत्राचार गरेका छन् । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मन्त्री बस्नेतलाई विपन्न, असहाय र बेबारिसे बिरामीको उपचार लागि स्वास्थ्य संस्थाले शय्या नछुट्याइएको भन्दै अनुगमन र कारबाही गर्न अनुरोध गरेका थिए । स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र उक्त काम नगरे महानगरले ६८ वटा स्वास्थ्य संस्थाको प्रशासनमा तालाबन्दी गर्ने चेतावनी समेत दिएको थियो । उक्त चेतावनीपछि गत शुक्रबार मन्त्री बस्नेत पत्रकार सम्मेलनमा बालेनले प्रचार गरिरहेका र आफूले हल्ला नगरी काम गरिरहेको बताएका थिए ।
१ सय ७९ देशमा नेपालीलाई रोजगारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य थालेको छ । सिंहदरबारमा गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिएको हो । दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी अनुरुप यो कार्य भइरहेको हो । योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउने श्रम मन्त्रालयको दाबी छ । सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन । तर, कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ । नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य सम्बन्ध कायम गरेको छ । तर, वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ ।
देशमा गैरआवासीय राजदूत नियुक्त
विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । जसअनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरत कुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मजदूरी गर्न गएका बाँकेका युवाको कुटपीटबाट मृत्यु
मजदूरी गर्न आएमा बाँकेका एकजना युवाको निर्घात कुटपीटबाट दार्चुलामा निधन भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ का ३० वर्षीय देव परियारको मृत्यु भएको हो। उनी सदरमुकाम खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिटपछि अचेत अवस्थामा शनिबार राती भेटिएका थिए। उनको टाउको तथा शरीरभरी घाउ रहेको प्रहरीले बताएको छ । प्रहरीले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पु¥याएको थियो। उपचारको क्रममा उनको आइतबार मृत्यु भएको प्रहरीले जनाइएको छ। परियारमाथी कुटपिट गर्नेको पहिचान खुलेको छैन। तर, प्रहरीले चारजनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको बताएको छ । मृतक परियार मजदुरी काम गर्न केही दिन अघि खलंगा आएका थिए। खलंगाको एक होटेलमा नेपालगन्जबाटै आएका अन्य चार जनासँग उनी बस्दै आएका थिए। मृतकसँग बस्ने उनीहरूलाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गाहामगरले बताएका छन् ।
सन्दीपलाई दक्षिण अफ्रिका जान अदालत भएन बाधक
नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको तारिख आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने भएको हो । उनी सोमबार साँझ दक्षिण अफ्रिका जाने छन् । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार सन्दीपलाई सोमबार साँझ दक्षिण अफ्रिका पठाउन लागिएको हो । दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरु सदस्य मंगलबार नै त्यसतर्फ गइसकेका छन्। तर अदालतले फैसला दिने गरी तयारी गरेर सुनुवाइ पनि अघि बढाएका बेला सन्दीप जानबाट रोकिएका थिए। उच्च अदालत पाटनले गत पुस २९ गते जेलबाट रिहा गर्ने गरी दिएको आदेशमा सन्दीपलाई विदेश जान रोक लगाएको थियो। तर सर्वोच्च अदालतले उच्चको उक्त आदेशलाई बदर गर्दै विदेश जाने बाटो खोलिदिएको थियो । तर, सन्दीपले हरेक २१ दिनमा जिल्ला अदालतमा उपस्थित हुनुपर्ने बाध्यात्यमक प्रावधानले उनी मंगलबार त्यता जान पाएनन् । यसबीचमा यो मुद्दालाई लिएर सन्दीपका वकिलहरुले कम्तीमा डेढ महिना पर पेशी सार्न अदालतमा निवेदन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया