कोरोना महामारी अन्त्य, सतर्कता अब स्वेच्छिक
२१ जेष्ठ २०८०, आईतवार ०९:३६
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड महामारीमा अनिर्वाय गरेका स्वास्थ्य सर्तकता फुकुवा गरको छ । कोभिड संक्रमण न्यून भएकाले मन्त्रालयले मास्कको प्रयोग, सिमानाकामा परिक्षण र खोप कार्ड अनिवार्य नभएको उल्लेख गरेको छ । कोरोना संक्रमण दरमा कमी आउन थालेपछि केहि समय अघि मात्रै विश्व स्वास्थ्य संगठनले पनि कोरोना महामारी अन्त्य भएको घोषण गरेको थियो । नेपालमा पनि सक्रिय संक्रमितको संख्या निकै कम रहेकाले मन्त्रालयले स्वास्थ्य मापदण्ड अनिवार्य नभएको घोषण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना मार्फत संक्रमण दर घट्दै गएपछि कोभिड १९ को मापदण्ड परिमार्जन गर्दै यसअघि अनिवार्य रहेको मास्कको प्रयोग स्वेच्छिक बनाएको हो । यसका साथै मन्त्रालयले सङक्रमण दर न्यून भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड १९ को परीक्षण गरेको र खोप लगाएको प्रमाण आवश्यक नभएको बताएको छ । कोभिड महामारीको समयमा अनिवार्य पालना गर्नू पर्ने स्वास्थ्य मापदण्डलाई परिमार्जित गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नभएको सुचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार हाल कोरोना संक्रमण दर तथा अस्पतालमा भर्ना हुनेको दरमा उल्लेखनीय कमी आएको छ । साथै अधिकांश मानिसले कोभिड १९ को पूर्णमात्रा खोप लगाइसकेका छन् । उता छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुलाई परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने व्यवस्था गरेको हो । मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा गठन गरेको विज्ञ टोलीले अर्को सूचना जारी नभए सम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको छ ।
मन्त्रालयले स्वास्थ्य मापदण्डलाई स्वेच्छिक रुपमा पालना गर्ने निर्देशन दिए पनि कोरोना भाइरसका विरामीलाई नियमित निगरानीमा राख्ने र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ गर्ने उल्लेख गरेको छ ।
जनवरी २०१९ देखि कोरोना भाइरस विश्व व्यापी समस्याको रूपमा देखा परेको थियो । चिनबाट सुरु भएको कोरोना भाइरस चीनबाहिर भने सबैभन्दा पहिला थाईल्यान्डमा देखा परेको थियो । त्यसपश्चात, जापान, दक्षिण कोरिया, अमेरिका हुँदै विश्वभर फैलिएको थियो ।
विश्वका कैयौं राष्ट्रमा कोरोना भाइरस तिव्र गतिमा फैलियो र लाखै मानिस प्रभावित भए । सुरुवाति चरणमा कोरोना भाइरसको प्रभावलाई लिएर विश्व स्वास्थ्य संगठनले ‘आपत्काल’ घोषणा गरेको थियो । कोरोना भाइरस तिव्र गतिमा फेलिनुका साथै कैयांैको ज्यान जानथाले पछि विश्व स्वास्थ्य संगठनले मार्च २०२० मा विश्व महामारीको घोषणा गरेको थियो । गत मे बाट विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीको अन्त्य भएको घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण दर र मृत्यु दरमा आएको कमीका आधारमा कोरोना महामारीमा जारी गरेको उच्च सतर्कता तीन वर्षपछि हटाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया