जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पाउनै कठिन
२० जेष्ठ २०८०, शनिबार १०:३९
ताप्लेजुङ स्वास्थ्य सम्बन्धि अधिकार नागरिकले प्राप्त गरेको मौलिक अधिकार हो । तर, के मौलिक हकमा समेटिएको स्वास्थ्य सम्बन्धि हक नागरिकले पूर्णरुपमा पाएका छन् रु
सतहमै रहेर हेर्दा पनि हक व्यवहारमा न्यून देखिन्छ । अझ ग्रामीण क्षेत्रका नागरिकमा स्वास्थ्यको सहज पहुँच नै छैन ।
अझ कतिपय ठाउँमा त स्वास्थ्य उपकरण हुँदा समेत उपचार सेवा दिएको देखिदैन । यस्तै समस्याबाट ग्रसित छन् ताप्लेजुङवासी ।
ताप्लेजुङमा सञ्चालित जिल्ला अस्पतालका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारको आर्थिक सहयोगमा बालबालिकाका लागि भेन्टिलेटर, आईसियु सहितको पेड्राईटीक आईसियु खरिद गरियो । तर, १ करोड ८ लाख भन्दा बढी रकम खर्चेर खरिद गरिएको अत्याधुनिक उपकरणहरु सञ्चालन आएका छैनन् ।
त्यसैले ताप्लेजुङवासी जिल्ला बाहिर गएर उपचार लिन बाध्य छन् । अस्पतालमा उपकरणहरु हुँदा पनि सञ्चालनको लागि दक्ष जनशक्ति नहुँदा उपचारको लागि टाढा जानुपर्ने स्थानीयको बाध्यता छ ।
अस्पताललाई ५ वटा बेड प्राप्त छन् । तर, संरचना अभावका कारण २ ओटा बेडमात्र जडान गरिएको छ । जडान गरिएको बेडलाई समेत सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा उपचार सेवा दिन नसकिएको अस्पताल प्रशासन बताउँछ ।
जनशक्ति व्यवस्थापनको लागि आन्तरिक कोषलाई व्यवस्थित गर्ने र थप निर्णय गरेर प्रदेश तथा संघीय सरकार समक्ष अनुरोध गर्ने अस्पताल व्यवस्थापनको तयारी छ ।
अस्पतालमा हाल ईमरजेन्सीमा ७ सहित ३० ओटा बेड सञ्चालनमा छन् । बिरामीको चाप भएको बेला कर्मचारीलाई भ्याई नभ्याई हुन्छ । यहाँबाट रेफर भएका बिरामीले झापाको बिएण्डसी अस्पतालसम्म पुगेर उपचार लिन बाध्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया