सीटीईभीटीका कर्मचारी चढेको जीप सुनकोसीमा खस्दा तीन जना बेपत्ता
१९ जेष्ठ २०८०, शुक्रबार १४:१५
सिन्धुली – मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा जीप सुनकोसी नदीमा खसेको छ । आज शुक्रवार सुनकोसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन्
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक डीएसपी चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी का कर्मचारी चढेको बा १ झ ७४६७ नम्बरको जीप काठमाण्डौबाट खोटाङ जाँदै गर्दा नदीमा खसेको हो ।
जीपमा चार जना रहेकामा चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था थाहा नभएको उहाँले बताउनुभयो । सामान्य घाइते चालकको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।
बेपत्ता हुनेहरूमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक सहसचिव तनहुँको भानु नगरपालिका–९ का ५७ वर्षीय कृष्णबहादुर केसी, कार्यालयको योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद घुर्तेल र कार्यालयका विद्युत् प्रशिक्षक इलामका भानु पौडेल रहेका छन् ।
बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको डीएसपी दाहालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया