आम माफी दिए जेलबाट छुटे रेशम चौधरी
१५ जेष्ठ २०८०, सोमबार ०८:४१
जेठ १५देवानगञ्ज ,- कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ । चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको थियो । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ ।
२०७२ साल भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यो घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो । घटनाको योजनाकारको आरोप लागेका चौधरी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा चौधरी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया