नेपालमा करिअर नदेखेपछि नर्सहरू विदेशतिर – Nagarikabhiyan : National News

नेपालमा करिअर नदेखेपछि नर्सहरू विदेशतिर

१४ जेठ, काठमाडौं सानै हुँदा स्कुलमा सररमिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स १ बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा गर्थें १’ सामान्य घरपरिवारमा जन्मिएकी प्रतिमालाई नर्सिङ पढाउन निरौला परिवारको बलबुताले भ्याएन ।

आफूले देखेको सपना पूरा गर्न उनले छात्रवृत्तिमा नाम निकालिन् । जेनतेन बुबा–आमाले फ्याक्ट्रीमा काम गरेर भए पनि अन्य खर्च जुटाए । २०६९ सालमा पीसीएल नर्सिङ पास गरेपछि तीन वर्ष नोबेल मेडिकल कलेजमा काम गरिन् । त्यसपछि २०७५ सालमा बीएस्सी नर्सिङ पास गरेर पुनः नोबेलमा काम गर्न थालिन् । विडम्बना मेडिकल कलेजले पीसीएल पास गरेर काम गर्न जाँदा भन्दा कम तलब दियो ।

नोबेलले तत्कालीन समयमा पीसीएल पास गरेर काममा जाँदा १५ हजार दियो । त्यसपछि, ब्याचलर्स गरेर जाँदा जम्मा साढे १२ हजार । उनीसँग अरू कुनै विकल्प पनि थिएन । निजी अस्पतालमा सबैतिर उही हालत । नोबेलमा काम गर्दै गर्दा त्रिवि शिक्षण अस्पतालमा २०७६ सालमा करारमा प्रवेश गर्ने मौका पाइन् ।

स्वास्थ्य उपचार नपाएर हजुरआमा गुमाउनु पर्यो । नर्सिङ पेशामा नछिर्दासम्म निरौलालाई लाग्थ्यो, ‘देशमै बुढाबुढीको सेवा गरेर बस्छु ।’ जब स्वास्थ्य सेवा प्रवेश गरेसँगै उनको मनमा प्रश्न खडा भयो— नेपालमै बसेर भविष्य बन्ला र रु

पेशाको सम्मान नहुनु, राजनैतिक अस्थिरता, तलब–सुविधा लगायत कुराले एक दशकमै उनलाई भुक्तभोगी बनाइदियो— ‘अब विदेश जानुबाहेक अन्य विकल्प छैन ।’

सँगै पढेका साथीहरूले विदेशमा एकस्तरको जीवनस्तर सुधार गरे । तर, नेपालमा भने बिहान–बेलुकी हातमुख जोर्न पनि धौ–धौ । ‘उनीहरूको प्रगतिले पनि विदेश जानमै प्रेरित गर्यो’, निरौलाले सुनाइन् ।
त्रिवि शिक्षण अस्पतालमा काम गर्दै जाँदा क्यानडाका लागि प्रक्रिया बढ्यो । आगामी ५ असारमा त्रिवि अस्पतालबाट जागिर छोड्दै उनी ३ साउनमा क्यानडाका लागि श्रीमान्सँगै ‘डिपेन्डेन्ट भिसा’ मा विदेश पलायन हुँदैछिन् ।

‘आर्थिक रूपमा कमजोर भएकै कारण लाखौं पैसा खर्च गरेर कुनै पनि हालतमा बाहिर जाने सोच थिएन । तर, बाध्यताले पनि बाहिर जानुपर्ने अवस्था आयो’ निरौलाले अनलाइनखबरसँग भनिन्, ‘भोलि छोरा–छोरीको भविष्य पनि हेर्नुपर्ने रहेछ ।’